'हो, नेपालमा पीएचडी एसोसिएसन छ'


दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्यसमा आएका कमेन्टहरू देखेपछि म चकित भएँ ।

पीएचडी एसोसिएसन भन्ने पनि छ र भन्ने अनभिज्ञता केहीले देखाए । एसोसिएसनबारे थाहा नहुनुलाई अन्यथा लिन मिल्दैन । कैयनले पीएचडीको पनि एसोसिएसन भन्दै खिल्ली उडाए । पीएचडी गर्नेहरूको पनि संस्था बनाएछन् भन्दै सामाजिक सञ्जालमा यति धेरै खिसी गरे कि म छक्क परें ।

अब एसएलसी पासको संस्था बनाऊँ, आईए/बीए पासको संस्था बनाऊँ भन्दै लेखे । कतिपयले एसएलसी फेल हुनेहरूको संस्था बनाऊँ भन्दै लेखे । खिस्सी मात्र गरेनन्, गाली पनि लेखे । अमर्यादित गाली पनि दिए ।कुनै पनि विषयमा विभिन्न मत हुनुलाई सामान्य रूपमा लिनुपर्छ । तर पीएचडी एसोसिएसनप्रति सकारात्मक धारणा राख्नेहरूको ठूलो संख्या देखियो तर नकारात्मक धारणा राख्नेहरूको पनि राम्रै संख्या देखियो । सामाजिक सञ्जालमा बौद्धिक ठानिएका कतिपयले पनि पीएचडीहरूको संस्थालाई खिल्ली उडाएको देख्न पाइयो ।

नेपालको चेतना र ज्ञानको स्तर वृद्धि नहुनुमा कैयन कारण छन् । ज्ञानको कदर गर्न नजान्ने र नचाहने प्रवृत्ति पनि एउटा कारण हो । नेपालमा जात, थर, गोत्र र धर्मका संस्थाहरू गल्लीगल्लीमा छन् । जात, थर र धर्मका नाममा संस्था खोल्दा ताली बजाउने तर निश्चित स्तरको शिक्षा लिएकाहरूको संस्थालाईचाहिँ खिस्सी गर्ने, उडाउने प्रवृत्ति स्वाभाविक होइन ।

नेपालमा हजारौं संघ–संस्था छन्, लोकतान्त्रिक देशमा संघसंस्थाहरू निर्बाध खुल्नु स्वाभाविक हो । यो आवश्यक पनि छ, तर नेपालमा खुल्नुपर्ने प्रकृतिका संस्थाहरू भने खुलेका छैनन्, खुलेका छन् भने पनि तिनले गति लिन सकेका छैनन् । मुलुकलाई नभई नहुने संस्था जात, थर र धर्ममा आधारित संस्था हो कि पीएचडी गरेकाहरूको संस्था हो ? यसमा विचार गर्न जरुरी छ । हाम्रो जात, थर, धर्म र वर्गलाई यस्तो र उस्तो गरिदिनुपर्‍यो भन्दै माग राख्ने संस्था देशलाई चाहिएको छ कि देशका लागि कसरी योगदान गर्ने भनी चिन्ता र चिन्तन गर्ने संस्था चाहिएको छ ? यसमा विचार गरियोस् ।

नेपालमा संघ–संस्थाको काम माग राख्ने काम मात्र भएको छ । वैदेशिक सहयोगमा चल्ने संस्था (एनजीओ) ले समेत सरकारसँग माग राख्छ । आफ्नो देशको सरकार तथा राज्यका निकायहरूसँग के–के माग राख्ने भनी अध्ययन गर्न वैदेशिक सहयोग लिइन्छ । वैदेशिक सहयोगमा अध्ययन गरेपछि सरकारसँग माग राखिन्छ । सरकारसँग कुनै माग नराख्ने, सरकारलाई सुझाव दिने मात्र उद्देश्यका संस्था बहुत थोरै होलान् ।

नेपालमा एउटा पीएचडी एसोसिएसन छ, यसबारे धेरैलाई थाहा नहुन सक्छ । पीएचडी एसोसिएसन २०६६ सालमा खुलेको हो । यो संस्थाले माइतीघरमण्डलामा धर्ना दिएर संस्थाको मार्केटिङ गर्दैन । यसले अहिलेसम्म कुनै विदेशी सहयोग लिएको छैन । माग राख्दै पूरा गरिएन भने आन्दोलन गर्छौं भनेर धम्की पनि दिएको छैन । त्यसैले यो संस्थाको सार्वजनिक चर्चा धेरै छैन ।

नेपालमा एउटा पीएचडी एसोसिएसन छ, यसबारे धेरैलाई थाहा नहुन सक्छ । पीएचडी एसोसिएसन २०६६ सालमा खुलेको हो ।

नेपालमा जात, थर, गोत्र र धर्मका नाममा खोलिएका संस्थाहरूले के योगदान गरेका छन् ? वास्तवमा पीएचडी एसोसिएसन अन्तर्गत विभिन्न विषयका पीएचडीहरूको सहायक संस्था पनि बनाउन जरुरी छ । जस्तो कि केमेस्ट्री, फिजिक्स, समाजशास्त्र, राजनीतिशास्त्र, भूगोल, साहित्य, कृषि आदि । यस्ता संस्थाहरूलाई थिंकट्यांकका रूपमा सरकारले नै विकास गर्नुपर्छ । राष्ट्रिय जीवनलाई ठोस योगदान गर्न सक्ने संस्थाहरूको निर्माणमा नेपाल चुकेको छ । जात, थर, गोत्र र धर्मका नाममा संस्था बनाउँदैमा समाजलाई फुर्सद छैन, हामीले अनावश्यक काममा श्रम, समय र दिमाग खर्च गरेका छौं ।

खासखास नेताहरूको नाममा प्रतिष्ठान बनाउने, त्यस्ता प्रतिष्ठानलाई भजाएर लुटेर खाने प्रवृत्ति छ । हालै एक सर्प प्रतिष्ठानका हर्ताकर्ताहरूलाई भ्रष्टाचार मुद्दा लागेको स्मरणीय छ ।

नेपालमा शिक्षालाई प्रमाणपत्रका रूपमा मात्र बुझ्ने प्रवृत्ति छ, त्यसैले पीएचडी गर्नेहरूको संस्था छ भन्ने सुन्दा हाँसेर उडाउँछन् । हाम्रा विद्यार्थी संगठनहरूको काम आन्दोलन गर्ने, ढुंगा हान्ने, स्ववियुको चुनाव लड्ने, शिक्षालयमा तालाबन्दी गर्ने, शिक्षक कुट्नेमै सीमित छ ।

विद्यार्थी संगठनहरूले शैक्षिक उन्नयनका लागि काम गरेको, शैक्षिक स्तर सुधार्न काम गरेको, शिक्षालयमा अनुशासनको स्तर बनाउन योगदान गरेको सुन्न देख्न पाइँदैन । प्राध्यापकहरूको संस्थाले पनि शिक्षाको स्तर सुधार्न योगदान गर्न सकेको देखिँदैन । विद्यार्थी, प्राध्यापक, वकिल, पत्रकार, चिकित्सकलगायतको पेसागत संघ–संस्था छन् । यस्ता संस्थाहरूले राष्ट्रिय जीवनमा ठोस योगदान दिनसक्ने बनाउनुपर्छ ।

हामी देशमा विकास भएन भनेर चिन्ता गर्छौं । चिन्ता स्वाभाविक छ । देश विकासको जिम्मा खासखास नेताहरूको मात्र होइन, देशको विकास भनेको सामूहिक कार्य हो । हामीले हजारौं संघ–संस्थालाई राजनीति गर्ने थलो मात्र बनाएका छौं । त्यस्ता संस्थाहरूले आ–आफ्नो क्षेत्रमा विशिष्ट काम गर्ने हो भने देशको विकासमा ठूलो योगदान हुन्छ । नेपाल पीएचडी एसोसिएसनलाई पनि यही रूपमा बुझिनुपर्छ । पीएचडी एसोसिएसनसहित विविध संघ–संस्थाहरूलाई विशिष्टीकृत गर्दै लगेर देशका लागि योगदान गर्न सक्ने बनाउनुपर्छ । यो महान् कामको नेतृत्व सरकारले गर्नुपर्छ ।

आज नेपालीहरू विश्वभरि छरिएर रहेका छन् । विदेशमा रहेका नेपालीहरू आ–आफ्नो तरिकाले संगठित छन् । एनआरएन एसोसिएसन पनि छ । यस्ता संस्था राजनीति गर्ने थलो मात्र बनेका छन् । विदेश बस्ने नेपालीहरूको लगानी नेपालमा भित्र्याउन विभिन्न नीति बनाइएको छ । लगानी मात्र भित्र्याएर हुँदैन, ज्ञान भित्र्याउनुपर्छ । विदेशमै बसेर पनि नेपालीले ज्ञानको क्षेत्रमा योगदान गर्न सक्छन्, यस्तो किसिमको नीति पनि बनाइनुपर्छ ।

अन्त्यमा, नेपाली समाजमा आवेग, उत्तेजना, घृणा, निन्दा र नकारात्मक चिजको प्रसार तीव्र गतिमा हुने गरेको छ, तर ज्ञान, विवेक, बौद्धिकताको प्रसार मन्द गतिमा मात्र हुने गरेको छ । तथ्य र तर्कविहीन विषयवस्तु तत्काल भाइरल हुन्छ, तर विवेकपूर्ण कुराको सुनुवाइ हुँदैन । ज्ञान र विवेकको कुरा सुन्न अल्छी मान्ने तर घृणा, निन्दा र उत्तेजक विषयमा आकर्षित हुने प्रवृत्तिको शिकार नेपाली समाज भइरहेको छ । यो अवस्था उल्ट्याउन पीएचडी एसोसिएसनले आगामी दिनमा ठोस योगदान गर्न सक्नुपर्छ ।

डा. सुन्दरी पोखरेल

News Source: https://lokaantar.com/story/240342/2023/11/24/blog/dr-sundari-pokhrel